काठमाडौं । दुई कम्पनीहरूले यस वर्षको बोनस शेयर वितरण गरेका छन् । माउन्टेन इनर्जी नेपाल लिमिटेड र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको बोनस शेयर वितरण गरेका हुन । माउन्टेन इनर्जीले १५ प्रतिशत र नेशनल लघुवित्तले ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गरेको हो ।
माउन्टेन इनर्जीले चैत १३ गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट १५ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि फागुन ३० गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन २९ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् ।
त्यस्तै नेशनल लघुवित्तले चैत १६ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट ७ दमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । नगद लाभांश वैशाखमै वितरण गरेको कम्पनीले बोनस शेयर भने जेठ २५ गते दोस्रो बजारमा सूचीकृतपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।
लाभांश तथा साधारण सभा प्रयोजनका लागि नेशनल लघुवित्तले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन २९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । दुबै कम्पनीहरूले फागुन २९ गतेसम्म आफ्नो शेयर धितो बन्धक राखेका सदस्यहरूको हकमा बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भैसकेको भए फुकुवा गर्न समेत भनेका छन् । दुबै कम्पनीको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । आफ्नो हकको बोनस शेयर हितग्राही खातामा जम्मा भए नभएको एकिन गर्न समेत कम्पनीहरूले भनेको छन् ।