Monday, June 17Nepal News Portal
Shadow

टि ट्वान्टी विश्व कपः पाकिस्तानको पहिलो जित


 

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी टि ट्वान्टी विश्व कपमा पाकिस्तानले पहिलो जित निकालेको छ । पाकिस्तानले मंगलबार क्यानाडालाई ७ विकेटले हराउँदै तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो ।

यसअघि पाकिस्तान अमेरिका र भारतसँग पराजित भएको थियो । क्यानाडाको यो तेस्रो खेलमा दोस्रो हार हो । अमेरिकासँग पराजित भएको क्यानाडाले आयरल्यान्डमाथि जित निकालेको थियो ।

अन्तिम आठमा पुग्नका लागि अन्य खेलको नतिजा कुर्नुपर्ने अवस्थामा रहेको पाकिस्तानले क्यानाडाविरुद्ध १ सय ७ रनको लक्ष्य ३ विकेटको नोक्सानीमा १५ बल बाँकी रहँदा नै पूरा गरेको थियो ।

अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी इन्टरनेसनल क्रिकेट एकेडेमीमा पाकिस्तानलाई जित दिलाउन ओपनर मेहम्मद रिजवानले नटआउट अर्धशतक बनाए । ५३ बल खेलेका रिजवानले २ चौका र १ छक्काको मद्दतमा ५३ रनमा नटआउट रहे ।

कप्तान बाबर आजमले ३३ रन जोडे । ३३ बलमा बाबरले १ छक्का र १ छक्का प्रहार गरे । उसमान खान २ रनमा नआउट रहे । सइम अयुव ६, फकर जमान ४ रनमा आउट भए । क्यानाडाका डिलोन हेलिंगरले २ तथा जिरेमी गोर्डनले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो । ओपनर आरोन जोन्सनले अर्धशतक बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन् । आरोनले ४४ बलमा समान ४ छक्का र चौकाको मद्दतमा ५२ रन बनाए । कलिम सानाले नआउट १३ र साद विन जाफरले १० रन जोडे ।

पाकिस्तानका लागि प्लेयर अफ दी म्याच मोहम्मद आमिरले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । हरिस रौफले २ तथा शाहिन शाह अफ्रिदी र नसिम शाहले समान १ विकेट लिए । अमेरिकाले भारत र आयरल्यान्डसँगको दुवै खेल गुमाएर आफूले समूह चरणको अन्तिम खेल जितेको अवस्थामा मात्र पाकिस्तानको सुपर आठमा जाने सम्भावना जीवित रहन्छ ।

समूह एमा भारत र अमेरिकाले समान २ खेल जित्दै समान ४ अंक जोडेका छन् । पाकिस्तान र क्यानाडाको समान २ अंक छ भने आयरल्यान्ड अंक विहिन छ ।

Total Page Visits: 31 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्