काठमाडौं, ३ असोज (सस) । सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनलाई २४सै घन्टा रेखदेख गर्न सकिने सुरक्षित ठाउँमा यथाशीघ्र स्थानान्तरण गर्न चिकित्सकले सुझाएका छन् ।
शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाका चिकित्सक प्रवीणकुमार गिरीको टोलीले डा. केसीको स्वास्थ्य जाँच गरेको छ । चिकित्सकको टोलीले डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएको बताएका छन् । चक्कर लाग्ने, मुटुको चाल बढेको, मांसपेशी बाउँडिने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, पिसाबको मात्रामा कमी, रक्तचाप कम भइरहेको चिकित्सकको भनाइ छ ।
त्यस्तै, डा. केसीलाई जतिसुकै वेला पनि जटिल स्वास्थ्य समस्या आउन सक्ने डा. अनुपमंगल समालले बताए । त्यस्तै २४सै घन्टा नियमित रेखदेख गर्न सकिने ठाउँमा सार्न आवश्यक रहेको उनको भनाइ छ । शुक्रबार डा। गिरी, डा। समाल र सविना थापाको टोलीले डा. केसीको स्वास्थ्य जाँच गरेको हो ।
डा। केसी जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित धर्मशालामा सत्याग्रहमा बसिरहेका छन् ।