Sunday, September 8Nepal News Portal
Shadow

उपत्यकाका विद्यालय माघदेखि खुल्ने


काठमाडौं, पुस २४ (ससं) । कोरोना भाइरस (कोभिड–१९) को जोखिम घट्दो पाइएपछि  उपत्यकाका  सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी माघदेखि क्रमशः खुल्ने भएका छन् ।

गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् । अनलाइन तथा रेडियो टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो ।

कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए । ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ । हाल देशभर दैनिक करीब ५०० र काठमाडौँमा २०० को हाराहारीमा सङ्क्रमित देखिएका छन् ।

काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताएका छन् । गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने उनले बताएका छन् ।

कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालय लगायत विभिन्न क्षेत्र खुलाउन सिफारिस गरेको छ । काठमाडौंको डिल्लीबजारस्थित विजयस्मारक माविका प्रधानाध्यापकले सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न गरे पनि आफूहरुलाई विद्यालय खोल्न आत्मबल बढेकाले अब क्रमशः विद्यालय खोल्ने तयारीमा रहेको बताएका छन् ।

भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो । विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहको समन्वयमा विद्यालय खोल्न सकिने आधार यसअघिकै कार्यविधिले दिइसकेको तर देशभर अनिवार्यरुपमा सञ्चालनका लागि मन्त्रिपरिषद्को निर्णय आवश्यकपर्ने बताए ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्