काठमाडौं, पुस २५ (ससं) । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावलाई फेल हुने दाबी गरेका छन् । उद्योग संघ मकवानपुरको १९औं साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नै पार्टीका सांसदहरुले आफूविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावलाई परास्त गर्ने गरी आफूले तयारी गरिरहेको दाबी गर्दै उक्त प्रस्ताव फेल हुने बताएका हुन् । मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले पुस १० गते ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।
‘अब बस्ने प्रदेशसभाको बैठकबाट अविश्वासको प्रस्तावको विषयलाई प्रक्रियागत ढंगबाट टुंगो लगाउनेछ,’ पौडेलले आफूविरुद्ध आफ्नै जिल्लाका सांसदहरुले समेत हस्ताक्षर गरेकोप्रति दोष प्रकट गर्दै भने, ‘आफ्नै जिल्लाका सांसदहरुले समेत मेरो विरुद्धमा हस्ताक्षर अभियान सञ्चालन गरे । अब विकास विरोधीहरु को रहेछन् भनेर जनताले चिन्ने दिन आएको छ ।’ पौडेलविरुद्ध मकवानपुरका नेकपाका सांसद् मुनु सिग्देल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, ओमबहादुर ग्लानले हस्ताक्षर गरेका छन् ।