काठमाडौं, पुस २५ (ससं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध तय भएको आन्दोलनअन्तर्गत माग २३ गते काठमाडौंमा १ लाख मानिस जम्मा गर्ने बताएको छ ।
सो पक्षका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संसद विघटन ‘गैरसंवैधानिक, गैर लोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी प्रतिगामी कदम’ भएको दावी गर्दै सो विरुद्ध काठमाडौंमा कम्तीमा १ लाख मान्छे उतार्ने बताएका हुन् । त्यसका लागि श्रेष्ठले सम्पर्क कमिटीहरुलाई अहिल्यैबाट तयारी गर्न निर्देशन पनि दिएका छन् ।
शनिबार नेकपा सम्पर्क मञ्च समन्वय कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले संसद विघटन सिंगो राजनीतिक प्रणालीमाथिको आक्रमण समेत भएको बताए । ‘यो संसद विघटनमा मात्रै सिमित नरहन सक्छ । सिंगो राजनीतिक प्रणालीमाथिको आक्रमण र परिवर्तनमाथिको आक्रमण हो’, श्रेष्ठले भने ।
उनले यो प्रधानमन्त्री केपी ओलीको यो कदमले समग्रतामा प्रतिगमनलाई अघि बढाउन ढोका खोल्ने खतरा रहेको पनि बताएका छन् । ‘त्यसकारणले हामीले प्रतिगामी कदम मुर्दावाद पनि भनेका छौ’ संघर्ष समितिका संयोजक समेत रहेका श्रेष्ठको भनाइ रहेको छ ।