काठमाडौं, पुस २६ (ससं) । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइनुपर्ने बताएका छन् । सर्वोच्चको फैसला नआउन्जेल कसैले पनि नैतिक दबाब दिन नहुने उनले बताएका छन् ।
पोखरामा आइतबार आयोजित पत्रकार भेटघाटमा थापाले आगामी वैशाखमा चुनाव हुन सक्ने सम्भावना पनिउल्लेख गरेका छन् । राजतन्त्रसहितको लोकतन्त्र आफ्नो सैद्धान्तिक मान्यता रहेको भन्दै उनले जनताको अभिमतबाटै हिन्दु राष्ट्र फर्किने दाबी गरेका छन्।
‘१४ वर्षअगाडि रोपेको गणतन्त्रको बीउ अहिले आएर कसरी उखेलिँदै छ,’ उनले भने, ‘ओली सरकार असफल भएको छ । यस्तो असफल सरकारबाट मुक्ति पाउन पनि साझा जनादेशमा जान जरुरी छ ।’ थापाले नेकपाका कारण आज संविधानमाथि नै प्रश्न उठेको बताएका छन् । ओली सरकार संविधानको मान्यताअनुसार नचलेको उनले आरोप लगाएका छन् ।
‘संविधानमाथि नै गलत भइरहेको अवस्थामा अहिले मौन बस्नुको विकल्प छैन,’ उनले भने, ‘सर्वोच्चमा विचाराधीन मुद्दा छ । हामी बोल्नुको कुनै अर्थ छैन । यस्तो बेला सर्वोच्चलाई काम गर्न दिने हो, बोलेर दबाब दिने होइन ।’