काठमाडौं, (ससं) । गएको मङ्सिरमा देशभर एक साथ ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेको सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ मा थप २५९ स्थानीय तहमा एक-एक वटा अस्पताल निर्माण कार्य गर्ने भएको छ।
सरकारले सम्बन्धित स्थानीय तहको आवश्यकता हेरेर प्रत्येकमा ५ , १० र १५ शय्यामध्ये एक क्षमताको अस्पताल निर्माण गर्ने भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सम्बन्धित २५९ स्थानीय तहलाई पत्र पठाई अस्पताल निर्माणका लागि आवश्यक तयारी सुरू गर्न भनेको छ।
मन्त्रालयले २०७७ फागुन मसान्तसम्म आवश्यक विवरण पठाउन भनेको छ, जसको कार्य आगामी आर्थिक वर्षबाट सुरू हुनेछ।
अस्पतालको रूपमा स्तरोन्नति हुने स्वास्थ्य संस्था छनोट गरी जग्गा व्यवस्थापन गर्ने स्थानीय तहमा आगामी आर्थिक वर्ष २०७८/७९ मा भवन निर्माणको बजेट व्यवस्था गर्ने गरी चालु आर्थिक वर्ष २०७७/७८ मा नै डीपीआरको लागि लागत सहभागितामा बजेट पठाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अस्पतालको रूपमा स्तरोन्नति हुने स्वास्थ्य संस्था छनोट गरी जग्गा व्यवस्थापन गर्ने स्थानीय तहमा आगामी आर्थिक वर्ष २०७८/७९ मा भवन निर्माणको बजेट व्यवस्था गर्ने गरी चालु आर्थिक वर्ष २०७७/७८ मा नै डीपीआरको लागि लागत सहभागितामा बजेट पठाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसंख्याको आधारमा हरेक स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मको आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नति गरिने उल्लेख गरिएको थियो। सोहीअनुसार सरकारले स्थानीय तहमा अस्पताल स्थापना तथा स्तोन्नति कार्य अघि बढाएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष प्रदेश १ का ३०, प्रदेश २ का ७१, बागमती प्रदेशका ५३, गण्डकी प्रदेशका १९, लुम्बिनी प्रदेशका ३८, कर्णाली प्रदेशका २५ र सुदूरपश्चिम प्रदेशका २२ स्थानीय तहमा एक-एक वटा अस्पताल निर्माण गरिने छ।
सरकारले चालु आर्थिक वर्षमा ३९६ स्थानीय तहमा एक(एक वटा अस्पताल निर्माण कार्य सुरू गर्ने लक्ष्य लिएको थियो। जसअनुसार गत मङ्सिर १५ गते एक साथ ३०९ स्थानीय तहमा एक-एक वटा अस्पतालको शिलान्यास गरिएको थियो। बाँकी ८७ अस्पतालको शिलान्यास पनि यही वर्षमा हुनेछन्। यी अस्पतालहरुको निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
चालु आर्थिक वर्षमा निर्माण सुरू गरिएका अस्पतालहरूमा चार हजार ८७५ शय्या रहनेछन्। ती अस्पतालहरूमा ९८६ चिकित्सक र ९७ हजार ६५२ अन्य व्यक्तिले रोजगारी पाउने छन्।
सरकारले निर्माण सुरू भएका पाँच शय्याको अस्पताललाई आठ करोड, १० शय्याको लागि ११ करोड र १५ शय्याको लागि १८ करोड रूपैयाँ बजेट प्रदान गरेको छ। निर्माण सुरू भएका अस्पतालको लागि सरकारले ५८ अर्ब रूपैयाँ छुट्टयाएको छ।