काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका–२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीप कुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरु, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष र आयोजनाबीच बुधबार भएको छलफलमा सहमति जुटेको हो ।
बाह्रबिसे नगरपालिका–५ स्थित आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि स्थानीय बासिन्दाको अवरोध थियो ।
२२० केभी सिङ्गल सर्किट प्रसारण लाइनका लागि १३ वटा टावर निर्माण गरिएको थियो । तर, बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका बासिन्दाको अवरोधका कारण आयोजनाले २ किलोमिटर तार तान्न सकिरहेको थिएन । उक्त दुई किलोमिटरमा पर्ने प्रसारण लाइनको मार्गधिकार ९राइट अफ वे०मा १२४ जना जग्गाधनीको जग्गा पर्दछ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री खड्काले निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा समाहित गर्नका लागि प्रसारण लाइन निर्माणमा जारी अवरोध खुलाउन महत्वपूर्ण सहमति भएको बताए । सहमति सबै पक्षले इमान्दारीपूर्वक कार्यान्वयन गरी आयोजना निर्माणमा रहेका बाँकी काम एक महिनाभित्र सम्पन्न गर्न पनि उनले निर्देशन दिए ।
सहमति बमोजिम तत्काल निर्माण कार्य सुरु गर्न निर्देशन दिंदै ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री तामाङले निर्माण कार्यको आपूmले नियमित अनुगमन गर्ने बताए । सांसद बस्नेतले बिगतमा आयोजनालाई अगाडि बढाउन आफूले ठूलो जोखिम लिएको उल्लेख गर्दै हाल स्थानीयले उठाएका जायज मागलाई पूरा गराउन आफूले साथ दिएको बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइनका बाँकी काम सम्पन्न गरी आयोजनाबाट तत्काल विद्युत् उत्पादन सुरु गर्ने वातावरण बनाइदिन आग्रह गरे । घिसिङले आयोजनाको विद्युत प्रवाहका लागि २२०र१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको जानकारी गराए ।