काठमाडौं, (ससं) । कांग्रेस सभापति शेरबहादुर देउवा आगामी वैशाखमै प्रतिनिधिसभा निर्वाचन हुनेमा विश्वस्त रहेका छन् । ‘सर्वोच्च अदालतभन्दा जनता ठूलो अदालत हो’ भन्दै उनले पार्टीलाई निर्वाचनको पक्षमा रहेको सन्देश दिन खोजेका छन् ।
पार्टीभित्रै शीर्षस्थ नेताहरूले वैशाखमा निर्वाचन हुने देउवाको भनाइ पत्याइरहेका छैनन् । प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुवै नहुने तर्क गर्दै त्यसपछि उत्पन्न हुने जटिल राजनीतिक परिदृश्य उनीहरूले आकलन गरिरहेका छन् । ०५९ जेठ २ गते आफैंले प्रतिनिधिसभा विघटन गरेको इतिहास स्मरण गर्न देउवालाई बारम्बार सचेत पनि गराएका छन् ।
देउवा यतिबेला कसैको आग्रह र सुझाव सुन्न तयार छैनन् । अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई सदर गरे तोकिएकै मितिमा निर्वाचन हुँदैन कि भन्ने उनमा रत्तिभर शंका छैन । केन्द्रीय कार्यसमितिकै बैठकमा धेरैले आशंका जनाउँदा देउवाले प्रतिवाद गरे । काठमाडौं क्षेत्र नं ५ ले शनिबार आयोजना गरेको विरोधसभामा उनले निर्वाचन हुनेमा विश्वस्त रहेको बताए । प्रधानमन्त्री ओलीले चुनाव गराउँदैनन् कि भन्ने चिन्ता धेरै नेताहरूले गरेको सुनाउँदै उनले भने, ‘तर मलाई विश्वास छ ।’
वैशाखमा चुनाव गराएनन् भने ओली नेपालमै बस्न नसक्ने गरी राजनीतिबाट किनारा लाग्ने दाबी देउवाले गर्दै आएका छन् । ‘त्यति कुरा त ओलीले बुझेका होलान् नि,’ सार्वजनिक कार्यक्रममा उनको भनाइ थियो, ‘चुनाव गराउँछु भनिरहेकै छन्, यसलाई विश्वास गर्नुपर्छ ।’ कांग्रेसका एक नेताको दावीमा देउवाको यो स्तरको विश्वास आफैबाट पलाएको भने होइन । वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र उनीहरूको समूहमा रहेका धेरै नेता सैद्धान्तिक मुद्दामा अडिग छन् । प्रधानमन्त्रीलाई अधिकारै नभएको प्रतिनिधिसभा विघटनको कदम नजिर बने संविधान र यसैसँग स्थापित उपलब्धि धरापमा पर्ने उनीहरू बताइरहेका छन् । संविधान, गणतन्त्र, संघीयतासहितका उपलब्धि रक्षाका लागि प्रतिनिधिसभा पुनःस्थापना मात्रै विकल्प रहेको उनीहरूको भनाइ रहेको छ । तर देउवाले प्रतिनिधिसभा विघटनलाई पनि आफ्नो राजनीतिक लाभ र शक्तिसँग जोडेर हेर्ने गरेका छन् ।
आसन्न महाधिवेशनमा सभापतिमा दोहोरिन देउवालाई पार्टीभित्रै प्रतिकूल परिस्थिति बन्दै गएको थियो । आफ्नै समूहबाट उपसभापति विमलेन्द्र निधिको उम्मेदवारी घोषणाले उनी संकटमै थिए । यही मेसोमा भएको यो राजनीतिक घटनाले देउवा फेरि ‘बौरिएका’ छन् । बाहिर देख्दा पार्टी अलमलमा परेजस्तो भए पनि देउवाको गन्तव्य प्रस्ट रहेको उनी निकटस्थहरू बताउँछन् ।