Monday, September 16Nepal News Portal
Shadow

सहकारीमा १५ वर्षदेखि समस्या छ, सजिलै समाधान हुँदैनः मन्त्री अधिकारी


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका समस्या अहिलेका नभएर १२/१५ वर्ष अघिदेखिकै भएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज(सीजेएन)को १४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सहकारीमा भएका बेथितिहरू केही हदसम्म नियन्त्रण गर्न छुट्टै नियामक निकाय बनाउने काम अगाडि बढेको जनाए ।

“सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन हामीले नियामक निकाय स्थापना गर्ने क्रममा छौँ । यसका लागि कानुन बन्दै छ,” उनले भने, “सहकारीका बचतकर्ता संरक्षण कोष खडा गर्ने कुरा उठेको छ, यसको बारेमा पनि हामीले प्रक्रिया अगाडि बढाएका छौँ । यसका लागि नियम कानुन बनाउन बाँकी छ ।”

सहकारी भनेका सबै खराब हुन कि भन्ने हल्ला जनमानसमा गएको उनको भनाइ छ । तर, जनतामा भ्रम फैलने खालका क्रियाकलाप गर्न नहुने पनि उनको भनाइ छ ।

“कोही सानो बचत गर्ने, कोही ठूलो बचत गर्ने, कोही आन्दोलनका लागि मात्र पनि सहकारीमा प्रवेश गरेका छन्,” मन्त्री अधिकारीले भने ।

सरकारले गठन गरेको समितिमा सबै सहकारीको प्रतिनिधि राख्नुपर्छ भन्ने आवाज उठेको भन्दै सबैललाई समेट्न नसकिने उनको भनाइ छ । सहकारीको समस्या १२/१५ वर्षदेखि नै आएको उनको भनाइ छ ।

“सहकारी क्षेत्रमा अहिले संवेदनशील अवस्था छ । यो अवस्थामा हामीले सहकारीकर्मी र सहकारीका सदस्यलाई विश्वास बढाउनुपर्ने छ,” उनले भने, “सहकारीमा ऐन र नियमविपरीत काम भएका भए त्यसलाई ढाकछोप गर्न हुँदैन ।”

राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले पत्रकारहरूले सत्यलाई सत्य र असत्यलाई असत्य भन्न सक्नुपर्ने बताइन् ।

“एउटा व्यक्तिलाई देखाएर यो क्षेत्र नै विकृति भएको भन्न मिल्दैन,” उनले भनिन्, “सहकारीमा दुई तीन किसिमका बचतकर्ता छन् । सरकारले अहिले गरिरहेको काममा हामी एकदमै पोजेटिभ छौँ ।”

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्