काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल क्यानडाको किंग सिटीमा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो । १ सय २४ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रन बनाउँदै अल आउट भएको थियो । खराब ब्याटिङलाई निरन्तरता दिँदा नेपाल पराजित भएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले १७ अप्रिल पछि कुनै पनि खेल जित्न सकेको छैन । यसबीच नेपालले ११ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।
नेपाल र ओमान हालसम्म टि ट्वान्टी आईमा ६ पटक आमनेसामने सामने भएका छन् । जसमा समान ३ पटक जित र हार भएको छ । पछिल्लो ५ भेट मध्ये ३ खेलमा नेपाल विजयी हुँदा २ खेल ओमानले जितेको छ ।
नेपाल र ओमानबीचमा भएको पछिल्लो खेल ओमानले सुपर ओभरमा जितेको थियो। गत वर्ष आइसिसी एसिया छनोटको फाइनल खेलमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन मात्र बनाए पछि खेल बराबरी भएको थियो ।
सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकोमा नेपालले १० रन मात्र बनाएपछि पराजित भएको थियो ।