काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अविरल वर्षाका कारणले देशको उद्योग धन्दा, पेसा व्यवसायमा गम्भीर असर गरेको भए पनि बजारमा औषधि, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको अभाव हुन नदिन नेपाल चेम्बर अफ कमर्स सजग रहेको छ, ।
चेम्बरले खाद्यान्न लगायतका बस्तुहरूको नियमित आपूर्तिको सुनिश्चितता गर्दै मूल्यवृद्धि हुन नदिने तर्फ सबै व्यवसायीहरूको सहयोग रहने समेत बताएको छ ।
बाढी पहिरोजन्य घटनाबाट जनधनको ठुलो क्षति भएको भन्दै चेम्बरले राहत तथा उद्धार एवं सहयोगका लागि चेम्बरका जिल्ला, प्रदेश एवं नगर चेम्बरहरूलाई पनि आग्रह गर्ने निर्णय गरेको छ ।
यस्तै विपत्तिका कारण हुन गएको आफ्नो व्यवसायको क्षतिपूर्ति दाबी भुक्तानीका लागि बीमितहरुले बीमा कम्पनीहरू समक्ष बिमा रकम माग गरेमा यथाशीघ्र भुक्तानी दिलाउने व्यवस्था गर्न समेत चेम्बरले बीमा कम्पनीहरू समक्ष आग्रह गरेको छ ।