काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबार अन्तरवार्ता लिएका भारतीय टेलिभिजन च्यानल जी न्यूजका सम्पादक सुधीर चौधरीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतीय नाम दिने अभियान थाल्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीको अन्तरवार्ता बजाएको अर्को दिन सम्पादक चौधरीले सगरमाथामा भारतीयले दावा ठोक्नु पर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीसँग अन्ततरबार्ता लिन गत आइतबार काठमाडौं आएका चौधरीले हेलिकप्टरमा सगरमाथा आधार शिविर पुगेको बताएका छन् । मंगलबार राति प्रशारण भएको कार्यक्रममा उनी भन्छन्– ‘त्यहाँ उभिएर हामीले यस (सगरमाथा) को नाम परिवर्तन गर्न अभियान सुरू गरेका छौं।’
उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्छ भनेका छन् । भारतीय गणितिज्ञ राधानाथ सिकदरले सगरमाथाको उचाइ नापेकाले उनको नाममा सगरमाथाको नामाकरण हुनु पर्ने उनको तर्क छ।
‘माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ भन्ने अभियान हामी आजबाट सुरू गर्दैछौं। हाम्रो यो यात्रा त्यही अभियानको एउटा महत्वपूर्ण हिस्सा हो, उनले भने, ‘संसारलाई सगरमाथाको उचाइ पहिलोचोटि बताउने राधाकृष्ण सिकदरलाई अहिलेसम्म जस दिइएको छैन। अब भारतले आफ्नो यो दाबा ठोक्नुपर्छ।’
उनले भनेका छन्– ‘अंग्रेजहरुले भारतीय गणितिज्ञको कुनै मान्यता दिएनन् । बरु माउन्ट एभरेष्ट राख्दिए ।’ दर्शकलाई उनले ‘माउन्ट सिकदर’ अभियान थाल्नु पर्ने बताए ।