Tuesday, September 17Nepal News Portal
Shadow

सुदूरपश्चिम प्रदेशमा मन्त्री बन्नका लागि हानथाप


कैलाली,

सुदूरपश्चिम प्रदेशमा रिक्त दुई मन्त्री पदमा नियुक्तिका लागि आकांक्षीको हानथाप भएको छ । कतिले मन्त्री नपाए ओली समूहमा जान्छु भन्दै धम्क्याउन थालेपछि मुख्यमन्त्री त्रिलोचन भट्ट समस्यामा परेका छन् ।

सुदूरपश्चिम प्रदेशमा हाल भौतिक पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री पद रिक्त छ । मुख्यमन्त्री भट्टले १४ पुसमा भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई बर्खास्त गरेका थिए भने २२ पुसमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा आफैंले राजीनामा दिएका थिए ।
उनीहरु दुवै ओली निकट मन्त्री थिए । पठानसिंह र झपट दुवै सरकारबाट हटेपछि सुदूरपश्चिम प्रदेश सरकारमा ओली समूहको उपस्थिति शून्य रहेको छ ।

उनीहरू दुवै जिम्मेवारीबाट हटेपछि अहिले प्रचण्ड-माधव नेपाल समूहका नेताहरु मन्त्री बन्ने लबिइङमा छन् । दुई मन्त्रालयका लागि झन्डै आधा दर्जन बढी सांसद आकांक्षी छन् ।

आकांक्षी धेरै हुँदा व्यवस्थापनमा समस्या भएको प्रदेश सभा सदस्यहरूको भनाइ छ । ‘सबैलाई मन्त्री बन्नु परेको छ, यता मन्त्री नबनाए उता (ओली समूहमा) जान्छु भन्छन्,’ प्रदेश सभाका एक जना सदस्यले भने, ‘त्यही समस्याले गर्दा मुख्यमन्त्रीले मन्त्री छान्न सक्नुभएको छैन ।’

अहिले प्रदेशमा कञ्चनपुरबाट निर्वाचित सांसद मन्त्री छैनन् । यस्तो अवस्थामा तारा लामा तामाङलाई मन्त्री बनाउनु पर्ने दबाब मुख्यमन्त्रीलाई छ । तामाङ नेकपा कञ्चनपुरको पार्टी सचिवसमेत हुन् । प्रचण्ड-नेपाल समूहमा रहेको भन्दै ओली समूहले सोमबार तामाङलाई पार्टी सचिवको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्