Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Tuesday, December 3Nepal News Portal
Shadow

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखदः उद्योगी व्यवसायी


काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सुखद भएको उद्योगी व्यवसायीहरूले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द भएसँगै विमानस्थलको उडान कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरूले उडान सुरु गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा हुँदा पनि पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न लागेकाले उडान कटौती गरी विकल्पको रूपमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेसँगै उद्योगी व्यवसायीहरू उत्साहित छन् । विमानस्थल बन्ने भएसँगै भैरहवामा निजी क्षेत्रले होटल लगायत पर्यटन पूर्वाधारमा ठुलो लगानी गरेका थिए ।

विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौँको लगानी डुब्ने चिन्तामा रहेका उद्योगी व्यवसायीहरूलाई थोरै भए पनि राहत हुने देखिएको छ । उद्योगी व्यवसायीहरूले राज्यले नीतिगत रूपमा वैदेशिक रोजगारीमा जाने यात्रुहरूको लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही उडान गर्ने व्यवस्था गरी पर्यटनको लागि प्रचारप्रसार गर्नुपर्ने व्यवसायीहरूको भनाई छ । उनीहरूले बहाना गर्ने नभई अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई सहुलियत र सेवा सुविधा दिएर दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पर्यटन आगमनको सिजनको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने अवस्था भएकाले काठमाडौँ आउने पर्यटकमा कमी देखिएको बताए । उहाँले पर्यटन सिजनको समय भन्दा अन्य समयमा विमानस्थल बिस्तार गर्न व्यवसायीहरूले माग गरेको बताए । काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्दा नयाँ अवसरहरू सुरु हुने उनको भनाई थियो ।

उनले भने, ‘भैरहवा विमानस्थलमा राज्यले दिनुपर्ने सेवा सुविधा र आवश्यक व्यवस्थाहरु छोटो समयको लागि भन्दा पनि दीर्घकालीन हुनुपर्छ । भैरहवा विमानस्थलमा जाने कम्पनीहरूलाई दिने इन्टसेन्टिभ निरन्तरता हुनुपर्छ । उडान सुरु हुँदा बुटवल,पाल्पासम्म पर्यटक वृद्धि हुने अपेक्षा छ । कृषि उत्पादन विक्री लगायत धेरै क्षेत्रमा राम्रो हुन्छ । त्यसलाई पुँजी निर्माण र व्यापारसँग जोड्न सक्नुपर्छ । निजी क्षेत्रको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने माग पूरा भएको छ । दीर्घकालीन बनाउनको लागि आवश्यक सहुलियत,सुविधा र पूर्वाधारहरु तयार बनाउनसके गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले यो क्षेत्रको पर्यटन प्रवद्र्धन ठुलो योगदान गर्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालनको लागि सरकारले दिनुपर्छ । निजी क्षेत्रलाई दिँदा व्यवसायिक हिसावले गुणस्तरिय सेवाका साथ चल्नसक्छ । सरकार र निजी क्षेत्र दुवैलाई फाइदा हुन्छ ।’

उद्योगी व्यवसायी पवन गोल्यानले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको बताए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको बहानामा भए पनि निजी क्षेत्रका लागि सुखद र उत्साह बढाउने काम भएको उल्लेख गरे । उनले थाई एयर एसियाले उडान सुरु गरेको भन्दै गौतमबुद्धको जन्म भूमिलाई सरकारले मार्केटिङ गर्न सक्नुपर्ने धारणा राखे । उनले थाइल्याण्डका ९९ प्रतिशत बुद्धर्धमालम्वीहरुलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा नभएको भन्दै नेपालले प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगारीमा जाने उडानहरू पनि भैरहवाबाट सुरु गर्नुपर्नेमा जोड दिए ।

उनले अन्तर्राष्ट्रिय सबै उडान काठमाडौँबाट हुँदा ठुलो चाप परिरहेको भन्दै केही उडान पोखरा र भैरहवाबाट गर्नुपर्नेमा जोड दिए । उनले बुद्धको जन्मभूमिको रूपमा सरकारले विश्वमा प्रचार गर्न सके गौतमबुद्ध विमानस्थल सञ्चालनसँगै लुम्बिनी पर्यटकको हब बन्न सक्ने जिकिर गरे ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्