काठमाडौं । नेपाल सरकारले धितोपत्र बोर्ड अध्यक्ष छान्न फेरि प्रक्रिया थालेको छ । पटक–पटक प्रक्रिया सुरु गरे पनि विभिन्न कारणले छान्न नसकेको सरकारले यस पटक फेरि तीन जना प्रत्याशीहरूलाई अन्तर्वार्ताका लागि बोलाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा रहेको सिफारिस समितिले आइतबार (मंसिर ९) यसअघि पहिलो चरणको छनोटमा परेर पनि अन्तर्वार्तामा सहभागी नभएका तीन जनालाई बोलाएको हो ।
यसअघि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले परेका १९ आवेदनमध्ये मुक्तिनाथ श्रेष्ठ, सन्तोषनारायण श्रेष्ठ, कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई पहिलो चरणमा छोटोसूची (सर्टलिस्ट) मा छानेको थियो । तीमध्ये श्रेष्ठद्वय त्यतिबेलै अन्तर्वार्तामा सहभागी भए । तर कार्की, अधिकारी र चापागाईं अन्तर्वार्तामै गएनन् ।
धितोपत्र ऐनको व्यवस्थाअनुसार छनोट समितिले अध्यक्षका लागि तीन जना सिफारिस गर्नुपर्छ । तर अन्तर्वार्तामा दुई जना मात्र सहभागी भएपछि समितिले कानुनअनुसार तीन जना सिफारिस गर्न सकेनन् । त्यसपछि समितिले महान्यायाधिवक्ताको कार्यालयबाट कानुनी रायका माग्यो । महान्यायाधिवक्ताबाट मिश्रित राय आयो । पहिलो चरणमा परेका पाँच जनामध्ये तीन जना पठाउने वा छनोट प्रक्रिया रद्द गर्ने र उक्त राय प्राप्त भएपछि तत्कालीन सिफारिस समितिको बैठक बस्यो । बैठकमा समितिका तीन सदस्यबीच मत बाझियो र प्रक्रिया रद्द भयो ।
त्यसलगत्तै अध्यक्षका प्रत्याशी सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाले । गत असार १९ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय कार्यान्वयन नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी भयो । त्यति नै बेला पुरानो गठबन्धनको सरकार भत्केर नयाँ गठबन्धन बनेको थियो । त्यसपछि योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी आए ।
नयाँ सरकारले फेरि अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गर्यो । यसअनुसार उपाध्यक्ष अधिकारी संयोजक रहेको सिफारिस समितिले गत असोज १९ मा प्रत्याशीमध्येका तीन जना कार्की, अधिकारी र चापागाईंलाई बोलाएको थियो । बिहान आठ बजे बोलाइएको अन्तर्वार्तामा कार्की र अधिकारी निर्धारित समयमै अर्थ मन्त्रालय पुगेका पनि थिए । तर चापागाईं उपस्थित भएनन् । करिब ११ बजेतिर उपाध्यक्ष अधिकारी बिरामी परेको भन्दै अन्तर्वार्ता स्थगन भएको जानकारी दिइयो । त्यसपछि गत असोज २९ मा समितिले सूचना जारी गरेर आइतबार ९कात्तिक ९० मा अन्तर्वार्ताका लागि डाकेको छ ।