काठमाडौं । कर्जा लगानी बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता कायमै रहेको छ । बैंकहरूमा करिब सात खर्ब हाराहारी कर्जा लगानी योग्य रकम र तरलता रहेको छ ।
यही कारण राष्ट्र बैंकले बैंकहरूबाट सातामै अर्बौ रकम तान्ने र छोड्ने गरिरहेको छ । बुधबार मात्रै राष्ट्र बैंकले बैंकहरूबाट एक खर्ब रूपैयाँ रकम तान्न लागेको हो ।
राष्ट्र बैंकले २१ दिनको लागि यसरी बैंकहरूमा बढी भएको रकम तान्न लागेको हो । बैंकहरूले पुस २४ गते यो रकम फिर्ता पाउँनेछन् ।
आज पुस ३ गते नै यसअघि बैंकहरूले राखेको एक खर्ब रूपैयाँ परिपक्व हुँदैछ । बैंकहरूले गत मंसिर १२ गते राखेको एक खर्ब रूपैयाँ परिपक्व भएपछि यति नै रकम प्रणालीबाट तान्न लागेको हो ।
राष्ट्र बैंकले पटक–पटक गरेर बैंकहरूबाट एक सय १५ खर्बभन्दा धेरै रकम खिचिसकेको छ । यो रकम निश्चित समयको लागि तान्दै फेरि फिर्ता गर्दै गरेको कुल रकम हो ।
पुस दुई गतेसम्मको तथ्यांक अनुसार बैंकहरूले राष्ट्र बैंकमा यसरी राखेको रकम तीन खर्ब ५९ अर्बसम्म छ । यस्तो सञ्चित रकम भने बढ्दो क्रममा रहेको छ । मंसिर ९ गते बैंकहरूले यसरी राखेको रकम मात्रै तीन खर्ब आठ अर्ब रूपैयाँ थियो ।