Saturday, November 25Nepal News Portal
Shadow

प्रधानमन्त्री ओली विरुद्ध हिन्दु राष्ट्र बनाउने अभियानमा लागेको आरोप


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको आरोप लगाएका छन् । आइतबार प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उनले प्रधानमन्त्री ओली पक्षले पुस २३ गते काठमाडौँमा गर्ने भनेको जनसभामा राजावादीहरु पनि सहभागी हुने कुरा सुनेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दु राज्य घोषणा गर्ने चर्चा रहेको समेत बताएका छन् ।

प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टा गर्दै गलत बाटोमा लागेको उनको भनाइ छ । नेपाली जनताले प्रतिगामी कदम परास्त गर्ने उनको भनाइ छ ।
नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरी हिन्दु राज्य स्थापनाको षडयन्त्र गरेको बताइन् । प्रधानमन्त्री ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बनेको भन्दै उनले ओलीबाट थप कदम सम्भव नभएको बताइन् ।

विघटित प्रतिनिधी सभा सदस्य पूर्णकुमारी सुवेदीले संविधान विपरित जाने कदमका विरुद्ध लागिरहने बताइन् ।
पुष १४ गतेदेखि माइतिघर मण्डलामा जारी धर्ना आइतबार समाप्त गरिएको छ । २१ गतेसम्मको पूर्व निर्धारित कार्यक्रम भएपनि आगामी संघर्षको कार्यक्रमको तयारीमा लाग्नुपर्ने भएकोले आइतबार नै धर्ना कार्यक्रम समाप्त गरिएको नेकपाले जनाएको छ ।
यसै गरी वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन् । नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसदको पुनःस्थापना गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै नेता खनालले सरकार पाकेको फलझै झर्ने उनको भनाइ छ ।

Total Page Visits: 455 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्