Monday, February 10Nepal News Portal
Shadow

‘वैशाख १७ गते नै चुनाव हुन्छ , चुनावको तयारीमा लाग्नुस् ’: प्रधानमन्त्री ओली


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले चुनाव एक दिन पनि तलमाथि नहुने बताउनुभएको छ । धनुषाको मिथिला नगरपालिका ७ को ढल्केबरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित नेपालको पहिलो ४०० केभी सबस्टेशन तथा विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको २२०र१३२ केभी सबस्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘प्रदेश नं २ मा वैशाख १७ गते नै चुनाव हुने भएकाले चुनावको तयारीमा लाग्ननुस् ।’

प्रधानमन्त्री ओलीले सही, राम्रा र नयाँ कामको सुरुवात गर्नका लागि पुरानो परम्परा तोड्नुपर्ने बताउँदै पशुपतिनाथमा एक सय ४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले समाचार लेखेकामा गुनासो गर्नु भएको छ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘पशुपतिमा पहिले जस्तै चाँदीकै जलहरी हाल्नुपर्ने भनेर आएको गुनासो गर्नेसँग म प्रश्न गर्न चाहन्छु, तपाईँको बुबा किसान भएर हलो जोत्नुहुन्थ्यो, तपाईँ किन पत्रकार बन्नुभयो ? किसान नै भएर खेतीपाती गरेको भए पो परम्परा बाँच्थ्यो । मेरो बुबा पनि किसान हुनुहुन्थ्यो तर म प्रधानमन्त्री भएँ । त्यसैले नयाँ र राम्रा कामका लागि परम्परा भत्काउनुपर्छ ।’
प्रधानमन्त्रीले आफ्नो सरकारले तराई–मधेशमा बाटो, ढल र सिँचाइका आयोजना बनाएको बताउँदै खेतलाई सिञ्चित गर्न पहाड छेडेर कोशी ल्याइने जानकारी दिनुभयो । उहाँले पुराना दिन याद गर्दै भन्नुभयो, ‘यही ढल्केबरबाट जनकपुर पुग्नका लागि खाल्डाखुल्डी सडकबाट दुई घण्टा लाग्थ्यो भने अहिले जनकपुर–ढल्केबर ६ लेनको चिल्लो सडक बनेको छ ।’ प्रधानमन्त्री ओलीले अब केही दिनपछि जनकपुर–जयनगर रेल सञ्चालन गर्नका लागि आफै आउने बताउँदै भन्नुभयो, ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकै पालामा खरिद गरिएका दुई वटा रेल भित्रिसकेकाले अब छिट्टै सञ्चालन हुने तयारी हुँदैछ ।’

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्