काठमाडौं, (ससं) । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।
बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद्ले वताएका छन् ।
मौसमविद्का अनुसार यो प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि भई गर्मी सुरु हुनेछ । हाल देशका पहाडी भूभागमा आशिंक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो पहाडी भूभागमा आंशिक बदली रही प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव सात डिग्री र अधिकतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा धेरै वीरेन्द्रनगरको न्यूनतम तापक्रम आठ दशमलव दुई डिग्री सेल्सियस रहेको छ।