काठमाडौं, (ससं) । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अझ सशक्त आन्दोलन गर्ने बताएका छन् ।
बिहीबार (आज) पार्टीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा सातदोबाटो पुगेका उनले सरकारले संविधान मिच्ने काम गरेको बताएका हुन् । उनले भने, ‘लोकतन्त्रमाथि प्रहार भएको छ । त्यसका लागि सबै उक्त कदमको विरुद्धमा उत्रिएका छन् ।
उनले आफूहरुको आन्दोलन लोकतन्त्रको रक्षाका लागि भएको बताए । जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो, उनले भने , यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभई गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ हो ।
संवैधानिक परिषद् र भूमि आयोगमा बल मिच्याइँ तरिकाले सरकारले नियुक्ति गरेको विरोधमा आन्दोलन गर्नुपरेको दाहालले प्रस्ट्याए ।
उनले आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने बताएका छन् । हामी अझ ठूला आन्दोलन गर्ने छौं । २८ गते विशाल प्रदर्शन गर्नेछौं, दाहालले भने, फागुनको पहिलो हप्ताबाट जनआन्दोलन हुन्छ । ठूलो जनआन्दोलन हुन्छ । त्यसले सबै लोकतन्त्रविरोधीहरुलाई बढार्छ ।
२३ गते ओली समूहले राजधानीमा गर्न लागेको सभालाई दाहालले पञ्चर्यालीको संज्ञा दिएका छन् । उनले सरकार आफैंले जुलुस निकाल्नु भनेको पञ्चायतमा निकालिने पञ्चर्यालीजस्तै भएको बताएका हृुन् ।