Thursday, December 5Nepal News Portal
Shadow

डोटीमा शुरु भयो सेनिटरी प्याड उत्पादन


डोटी, (ससं) । डाटीमा सेनिटरी प्याड उत्पादन शुरु भएको छ । महिनावारी भएका बेलामा प्रयोग गरिने सेनिटरी प्याड बनाउन शुरुआत गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार प्रबन्ध केन्द्रको आर्थिक सहयोगमा र शैलेश्वरी महिला समूहको सहजीकरणमा सेनिटरी प्याड बनाउने उक्त मेशिन जडान गरिएको हो ।

मेशिन जडान भएपछि डोटीमा पहिलोपटक सेनिटरी प्याड उत्पादन गर्न थालिएको हो । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा सेनिटरी प्याड उद्योग स्थापना गरेर प्याड उत्पादन गर्न थालिएको छ । सेनिटरी प्याड नभएका कारण प्रायः गरी छात्रा महिनावारी हुँदा विद्यालय जान बन्द भएपछि उनीहरुको सहजताका लागि उक्त उद्योग सञ्चालनमा ल्याइएको शैलेश्वरी महिला समूहका पदाधिकारी तथा उद्योग सञ्चालक शारदा भट्टले जानकारी दिइन् । उनले भनिन्, “प्याड नभएका कारण महिनावारी भएका अधिकांश छात्रा विद्यालय जान सकेका थिएनन, उनीहरुका समस्या समाधान गर्न तथा नियमित विद्यालय जान सकुन् भन्ने उद्देश्यले हामीले उद्योग सञ्चालनमा ल्याएका छौँ, महिनावारी भएका छात्रालाई विषेश सहज हुनेछ ।”

कम्तीमा पनि रु ११ लाख ५० हजारको लागतमा उक्त उद्योग सञ्चालन गरिएको उनले बताए । उद्योगमा अहिले तीन कर्मचारीले पहिलोपटक ११ कामदारलाई प्याड बनाउने तालिम दिन शुरु गरिएको छ । जिल्लामै सेनिटरी प्याड उत्पान गर्न शुरु गरिएपछि प्याडको प्रयोग गर्नेहरुको सङ्ख्या बढ्दै गएको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा छाउपडीको अवस्था र महिलाको आर्थिक आत्मनिर्भरलाई मध्यनजर गरी ती समस्या समाधान होस् भन्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सेनिटरी प्याड बनाउने उद्योगले राम्रो काम गरेको स्थानीयवासी तथा नेकपाका नेता नारद मलासीले बताए । उनले भने, “महिनावारी र छाउपडीका कारण जिल्लाकै बदनाम थियो, महिनावारी भएका छात्रा स्कूल नै जाँदैन थिए, प्याड सहजरूपमा पाइने भएपछि छात्रा स्कूल पनि जानेछन्, जिल्लाको बदनाम पनि हट्नेछ ।”

यहाँ उत्पादित प्याड डोटी जिल्लासँगै छिमेकी जिल्लामा समेत निर्यात गर्ने गरी गुणस्तरीय उत्पादनमा ध्यान दिएर काम गरे राम्रो प्रभाव पर्ने प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, “सेनीटरी प्याड उत्पादन गुणस्तरीय तथा राम्रो गरिए बजारका लागि खोजी गर्नुपर्ने समस्या आउँदैन, राम्रो उत्पादन गरिए जिल्ला बाहिरसमेत निर्यात हुनेछ, महिलाका समस्या पनि समाधान हुनेछन् ।” पछिल्लो समय जिल्लामा सेनिटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाको सङ्ख्या बढ्दै गएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्