नवलपरासी, (ससं) । नेपाल कम्युनिष्ट पर्टि (नेकपा)का नेता योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको पार्टी बनेमा आश्चर्य नहुने बताएका छन् । पूर्वी नवलपरासीको कावासोतीमा शनिबार (आज) दिउँसो प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले ओलीका सबै कदम त्यतातर्फ उन्मुख रहेको टिप्पणी गरेका हुन् । उनले भने, प्रधानमन्त्रीको हरेक कदम गणतन्त्र र संघीयता विरोधी छ दुबै जना अध्यक्ष रहेको पार्टी बन्यो भने आश्चर्य हुने छैन । ओलीका सबै कदम त्यतातर्फ उन्मुख छन् । यी दुवै ( ज्ञानेन्द्र र ओली) अध्यक्ष रहेको पार्टी बन्छ बन्छ त्यो दिन टाढा छैन ।
ओलीको साथमा सर्वोच्च अदालतमा बहस गर्ने वकिलदेखि उनको कदमलाई साथ दिने सबै मण्डले रहेको भट्टराईको आरोप थियो । मण्डले र गणतन्त्रविरोधी झुण्डमा बसेर उनले (ओली) संविधानमा व्यवस्थै नभएको धारा भनेर निर्वाचित प्रतिनिधिसभा भंग गरेु, उनले भने, जनअधिकार खोस्ने नालायक र तानाशाहका रुपमा उनी इतिहासमा रहनेछन् ।
प्रधानमन्त्री ओली नेपालका यसअघिका ४० जना प्रधानमन्त्रीभन्दा नालायक र जनअधिकार खोस्ने तानाशाहका रुपमा उदाएको उनले बताएका छन् । निर्वाचित जनप्रतिनिधिलाई काम गर्न नदिएर उनले म नै राज्य हुँ भन्ने मान्यता बोकेका कारण ओलीलाई सबैले छोड्दै गएको योगेशले दाबी गरेका छन् ।