Wednesday, December 6Nepal News Portal
Shadow

‘भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन’: गृहमन्त्री थापा


काठमाडौं, (ससं) । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नहुने बताएका छन् ।

कतिपय घटनाको अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने रहेछ भन्दै मन्त्री थापाले भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजाय पाउने बताएका छन् ।

आज बिहान नेपाल विद्यार्थी संघ (नेविसंघ) को ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले सरकारको अनुसन्धान र प्रशासनिक निकाय पूर्णरुपले बैतडीमा केन्द्रित रहेको जानकारी दिए । मन्त्री थापाले अपराधीको करिब–करिब नजिक पुगेको भन्दै अपराधी पत्ता लगाउन युवा, विद्यार्थी, नागरिक समाजलगायत सबैको सकारात्मक सहयोगको सरकारले अपेक्षा गरेकोसमेत बताएको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका नेताहरु आज बिहान गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउन पुल्चोकस्थित मन्त्री निवासमा पुगेका थिए ।

गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता देखाउन ध्यानाकर्षण गराइएको नेविसंघका अर्का महामन्त्री दीपक भट्टराईले जानकारी दिए । अन्यथा नेविसंघ कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको उनले बताएका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत बुधबार बलात्कारपछि हत्या भएको थियो । उनको बलात्कारपछि हत्यामा संलग्नको पहिचान भएको छैन ।

२०७५ साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिलाई पनि प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

Total Page Visits: 522 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्