काठमाडौं, (ससं) । भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकामध्ये अहिलेसम्म २७ जनाको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अझै १७१ जना बेपत्ता छन् र उनीहरुको खोजी तथा उद्धारकार्य जारी भइरहेको छ ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घाइतेहरुलाई भेट्न आइटिबिपी अस्पताल गएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बेपत्ताहरुको खोजीका लागि उद्धारकर्मीहरु सोमबार रात भर पनि सक्रिय थिए ।
उत्तराखण्डको जोशीमठमा आइतबार अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा बाढी आएको हो ।
चमोली जिल्लाको हिमनदी फुटेर स्थानीय ऋषिगंगा जलविद्युत आयोजनाको बाँध बगाउँदा वरपरको बस्तीमा जोखिममा आएको थियो ।
जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरु हिमनदी फुटेर आएको बाढीका कारण बढि प्रभावित भएका हुन् ।