Monday, February 10Nepal News Portal
Shadow

एसईई परीक्षा जेठमा गर्ने तयारी


काठमाडौं, (ससं) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्र जेठमा सक्ने निर्णय गर्ने तयारी गरेको छ। शिक्षा नियमावलीमा वैशाखदेखि चैतसम्म शैक्षिक सत्र रहने उल्लेख छ।
कोरोना महामारीका कारण यस वर्षको शैक्षिक सत्र प्रभावित बनेपछि दुई महिना थप गर्न लागिएको छ।

यसबारे मन्त्रिपरिषदले शैक्षिक सत्र कायम गर्ने जिम्मेवारी मन्त्रालयलाई नै दिएको छ। मन्त्रालयले नियमावली संशोधन गर्न कानुन मन्त्रालयमा पठाएको छ।
शिक्षा सचिव गोपीनाथ मैनालीका अनुसार राजपत्रमा प्रकाशित भएपछि शैक्षिक सत्र कहिलेसम्म कायम गर्ने भन्नेबारे निर्णय हुनेछ।

‘शिक्षा नियमावली २०५९ लाई संशोधन गर्ने प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेको छ। महामारीजस्ता विपदका बेला शिक्षा मन्त्रालयले शैक्षिक सत्र तय गर्न सक्ने अधिकार मन्त्रिपरिषदले दिएको छ,’ उनले भने।

माघ २६ मा बसेको मन्त्रिपरिषद बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) राष्ट्रिय परीक्षा बोर्डले पुरानै ढाँचाअनुसार गर्ने निर्णय गरेको थियो।

गत वर्ष कोरोनाका कारण एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट भएको थियो। अब भने एसईईलगायत विद्यालय तहका परीक्षाहरू विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गरेरै गर्ने तयारी रहेको छ ।
शिक्षा नियमावलीको संशोधन राजपत्रमा प्रकाशित भएपछि शैक्षिक सत्र कायम गर्नेबारे औपचारिक निर्णय हुने मैनालीले बताएका छन् ।

‘जेठभरमा सबै प्रकारका परीक्षा सक्न पाए हुन्थ्यो भनेर काम गरिरहेका छौं,’ आइतबार शिक्षा पत्रकार समाजले गरेको अन्तर्क्रियामा उनले भने, ‘एसईई, कक्षा ११ र १२ का परीक्षा कहिले हुन्छन् भन्ने पनि बैठक बसेर छिट्टै टुंगो लगाउँछौं।’

यस वर्ष १४ महिनालाई शैक्षिक सत्र मान्ने र अर्को वर्ष १० महिनामै शैक्षिक सत्र सक्ने गरी तयारी गरिएको छ।

‘जेठमा यो शैक्षिक सत्र सकेर असार १ देखि नयाँ शैक्षिक सत्र सुरू गर्ने गरी तयारी भइरहेको छ,’ उनले भने।

अब हुने विद्यालय तहका परीक्षाहरू आन्तरिक मूल्यांकनमा सीमित नराखिने उनले बताए। विश्वविद्यालय तहका परीक्षाहरू विद्यार्थी भौतिक रूपमै उपस्थित भएर गरिएको उल्लेख गर्दै उनले जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा गरिने बताएका हुन्।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षाको आन्तरिक तयारी प्राविधिक विषय भएको र बोर्डले यस काम गर्न सक्षम रहेको उल्लेख गरेका छन्। शैक्षिक सत्र कहिले टुंग्याउने भन्ने सरकारको काम भएको उनको भनाइ थियो।

‘राजपत्रमा नियमावली प्रकाशित भएपछि बोर्डको बैठकबाट एसईईलगायत परीक्षा कहिले गर्ने मिति तोक्छौं,’ उनले भने।

गत वर्ष वार्षीक परीक्षा सकेर विद्यालयहरू बन्द भएका थिए। कोरोनाभाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण दशैंसम्म देशका अधिकांश विद्यालय खुलेका थिएनन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्