बुटवल, (ससं) । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले राम्रोसँग घर परिवार चलाउन सक्नेमा देश चलाउन सक्ने क्षमता हुने बताएका छन् । शनिबार बुटवलमा आयोजित अन्तरपार्टी महिला संजाल लुम्बिनी प्रदेशको प्रथम साधारण सभामा बोल्दै खाँणले राम्रोसँग घर परिवार चलाउन सक्नेले देश चलाउन सक्ने बताएका हुन् ।
घर व्यवहार चलाउन महिलाको भूमिका महत्वपूर्ण हुने भन्दै उनले राम्रोसँग घर व्यवहार चलाउन सक्ने महिलाले देश चलाउन सक्ने बताए । नेपाल महिला संघको नेतृत्वमा संगठित महिलाहरुको दवाबकै कारण २०४७ सालको संविधानमा निर्वाचनमा महिलाको सहभागिता सुनिष्चित गरिएको भन्दै खाँणले ०७२ सालको संविधानसम्म आइपुग्दा महिला सहभागिताको प्रतिसत थप बढेको बताए । लोकतन्त्रको स्थापनापछि पहिचान र अधिकारप्राप्तिका आन्दोलन सुरु भएको भन्दै खाँणले लोकतन्त्र आन्दोलनको राजमार्ग भएको विचार व्यक्त गरे ।
अन्तरपार्टी महिला संजाल लुम्बिनी प्रदेश अध्यक्ष नारायणी शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचि महाकाली बुहारी संयुक्त आवाजकी प्रदेश अध्यक्ष लता खड्का,अन्तरपार्टी महिला संजाल प्रदेश सचिव सीता देवकोटा,कोषाध्यक्ष सरीता श्रीवास्तव,सदस्य पुष्पा श्रेष्ठ घिमिरे लगायतले महिला हिंसा लगायतका महिला अधिकारका लागि दलभन्दा माथि उठेर आवाज उठाउनुपर्नेमा जोड दिएका थिए ।