काठमाडौं, (ससं) । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल–भारत सीमा नाकालाई व्यवस्थित र सुरक्षित रुपमा संचालन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेस रुपन्देही सिद्धार्थनगरका उद्योगी तथा पर्यटन व्यवसायीहरुले वेलहियास्थित सीमा नाका व्यवस्थित रुपमा सञ्चानको माग गरेकाले त्यसलाई समर्थन गर्दै खाँडले आज विज्ञप्ति जारी गरेका हुन् ।
‘सिमा नाका संचालनका विषयमा सरकार गम्भीर बनोस् र यथाशिघ्र सिमा नाका सुरक्षित र व्यवस्थित तवरले संचालन गर्न सरकार संग जोडदार माग गर्दै सिद्धार्थनगरका उद्योगी, व्यवसायी, श्रमिक मजदुरहरुले सिमानाका संचालन गर्न गरिएको दबाब कार्यक्रमको समर्थन गर्दछु’, उनले भनेका छन् ।
कोरोना भाइरसको महामारीले नेपाली जनताको जीवन स्तरमा गम्भिर प्रभाव पारेको वर्तमान अवस्थामा लामो समय देखिको वन्दावन्दीले नेपालमा उद्योग, कलकारखाना, पर्यटन व्यवसाय, यातायात व्यवसाय र दैनिक ज्यालादारी गरी गुजारा चलाई आईरहेको मजदुर ज्यादै मर्कामा परेको उनको भनाई छ ।