काठमाडौं, (ससं) । पाकिस्तानको सबैभन्दा ठूलो शहर कराचीको सडकमा चोरी र उत्पीडनका घटना रोक्न एक रोलर स्केट समूह परिचालन गरिएको छ।
बढ्दो अपराधलाई न्युनिकरण गर्न र अपराधीलाई चाँढोभन्दा चाँढो कानूनी कारवाहीमा ल्याउने उदेश्यले २० जनालाई परिचालन गरिएको हो।
उनीको समूह कराचीको सडकमा कालो पहिरनमा देखिने छन्। उनीहरुलाई बन्दुकको सट्टा ह्यान गन अर्थात पेस्तोल दिइएको छ। यदि तपाई कराची जानुभयो भने उनीहरुको समूहलाई एक लाइनमा एकै चालमा गुडिरहेको देख्नु हुनेछ। युनिटका प्रमुख फर्रुख अलीले भने,‘रोलर स्केटमा रहेका अधिकारीहरूले २० करोड जनसंख्या भएको शहरमा मोटरसाइकलमा आउने चोरहरूलाई सजिलैसँग पक्रन सक्दछन्। सडक अपराधलाई नियन्त्रण गर्न यो नवीन उपायको आवश्यकता देख्यौं।’
खराब सडकको अवस्था र असमान फुटपाथका कारण कराचीका धेरै ठाउँहरूमा रोलर स्केट पुलिस तैनाथ गर्न नसकेको उनले बताएका छन् ।
तर चोरी र उत्पीडनको उच्च घटना हुने सार्वजनिक स्थानमा उनीहरुलाई खटाइएको अलीले बताएका छन् ।
‘यो भर्खरै सुरु भएको हो,’ उक्त समूहका एक महिला अनिला असलमले भनिन्, ‘यो रोलर स्केटले वास्तवमै हामीलाई फाइदा पुर्याउँछ। हामी साँघुरो गल्लीहरूमा सजिलैसँग पुग्न सक्दछौं, जहाँ जान प्रायः गाह्रो हुन्छ।’
उनीहरुलाई आउँदो महिनामा आधिकारिक रूपमा खटाइने छ। तर उनीहरूलाई हालसालै पाकिस्तान सुपर लिग क्रिकेट टूर्नामेन्ट हुँदा रंगशालाको बाहिर देखिएको थियो।
अहिले उनीहरूले कराचीको समुद्र तटमा गस्ती गरिरहेका छन्। ‘दिनहुँ यहाँ घटना घटिरहन्छ। उनीहरूलाई बिहानदेखि बर्दीमा देखेर हामीलाई सुरक्षित अनुभूति हुन्छ,’ पैदल यात्री मुहम्मद अजीमले भने।