काठमाडौं (ससं) । साताको तेस्रो कारोबार दिनन मंगलबार (आज) सेयर बजारमा तीब्र उतारचढाव देखिएको छ। नियमित कारोबार खुलेको सुरुआती समयमा २५ अंकसम्म बढेको बजार त्यसपछि भने दिनैभर रातै भएको थियो । आज अन्तिममा बजार २१ अंकले घटेर बन्द भयो।
सोमबार २६०७ विन्दुमा रोकिएको बजार सूचक मंगलबार २५८६ विन्दुमा आइपुगेको छ। कुनै समय १२ अंकले घटिसकेको सेन्सेटिभ इन्डेक्स समेत अन्तिममा २ अंकले मात्रै घटेर ४६७ विन्दुमा बन्द भएको छ।
यसक्रममा व्यापार समूह २६ अंकले बढ्नुबाहेक सबै उपसूचकहरु ऋणात्मक भएका छन्। उत्पादन समूह ९५ अंकले घट्दा निर्जीवन बीमा समूह ५२ अंक र अन्य समूह ५१ अंकले घटेको छ।
सोमबार प्रधानसेनापति र प्रधान न्यायाधिशको भेट भएको थियो। त्यसको भोलिपल्टै ९मंगलबार० राष्ट्रिय सुरक्षा परिषदको समेत बैठक बस्यो ।यसैलाई जोडेर सरकारले देशमा संकटकाल लगाउन सक्ने हल्ला बाहिरिएपछि लगानीकर्ताको मनोविज्ञान कमजोर भएको थियो। संकटकाल लाग्दै छ भन्ने हल्ला सामाजिक सञ्जालमा यसरी फैलियो की सुरुमा २५ अंकसम्म बढेको बजार एकाएक घट्न थालेको थियो । त्यसपछि ब्रोकर हाउसले पनि संकटकाल लाग्न सक्ने हल्लालाई बलियो आधार दिएपछि बजार थप ओरालो लागेको थियो।
तर ठूला खेलाडीहरुले बजार घटेको मौकालाई भरपुर सदुपयोग गरेको बजार विश्लेषकहरु बताउँछन्। बजार घटेर तीन महिनाअघिको मूल्यमा सेयर किन्न पाएपछि एक बजेपछि खरिद चाप बढेको विश्लेषकहरुको भनाइ छ।
एक समय चारवटाबाहेक सबै कम्पनीको सेयर मूल्य घटिसकेकोमा बजार बन्द हुने बेलासम्ममा ४६ कम्पनीको सेयर मूल्य बढेको छ।
नेपाल फाइनान्स, हिमालयन पावर पार्टनर, लिवर्टी इनर्जी र अपी पावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। दोस्रो बजारमा सूचीकरणपछि लगातार एक हप्तासम्म सकारात्मक सर्किट लागेर प्रतिकित्ता ६६० रुपैयाँ पुगेको निफ्राको सेयर मूल्य मंगलबार भने १० प्रतिशत ९६६ रुपैयाँ० ले घटेर सर्किट लाग्यो । यस्तै, आँखु खोला जलविद्युतको पनि ६ प्रतिशत र युनिलिभर नेपालको ५ प्रतिशतले मूल्य घटेको छ।
मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीमा भने निफ्रा नै रह्यो । यसको करिब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै माथिल्लो तामाकोशीको ४३ करोड, नबिल बैंकको ३७ करोड, एनआइसी एसियाको ३१ करोड र ग्लोबल आइएमई बैंकको २९ करोड रुपैयाँको सेयर किनबेच भयो।
मंगलबार २०५ कम्पनीको आठ अर्ब ५६ करोड रुपैयाँ बराबरको एक करोड ७७ लाख कित्ता सेयर किनबेच भए। जसमध्ये ४६ कम्पनीको मूल्य बढ्दा ११ कम्पनीको मूल्य स्थिर रह्यो भने बाँकी सबैको सेयर मूल्य घटेको छ।