सिओल, (ससं) । प्रवासी श्रमिक युनियन (एमटियु) दक्षिण कोरियाले ईपीएस कार्यालय नेपालको लोगो तथा ठेगाना दुरुपयोग गरी अवैध रुपमा सञ्चालित फेसबुक पेजलाई नियन्त्रण गर्न सम्बन्धित कार्यालयसँग अनुरोध गरेको छ।
युनियनले आज एक विज्ञप्ती प्रकाशित गर्दै त्यस किसिमका भ्रामक गतिविधि गर्नेगरी आफ्नो परिचय लुकाएर कार्यालयको ठेगानामा सञ्चालित पेजहरुलाई कानुनी कारवाहीका लागि सहयोग गरिदिन आग्रह गरेको हो।
वैदेशिक रोजगार बोर्ड, ईपिएस नेपाल ग्वार्को शाखाको ठेगाना तथा फोन नम्बरसमेत उल्लेख गरी खोलिएका फेसबुक पेजहरुमार्फत युनियनका विषयमा कपोल्कल्पित टिप्पणी गर्ने र युनियनका गतिविधिका विषयमा तथ्यहिन भ्रम फैलाउने कार्य भइरहेको भन्दै त्यस्ता गतिविधि गर्नेलाई कानूनी घेरामा ल्याउन आग्रह गरिएको छ।
कोरिया सरकारले यहाँ विदेशी श्रमिक ल्याउन आनाकानी गर्नुको मुख्य जिम्मेवार एमटियु कोरिया भएको आरोपसहित ती पेजहरुमा निराधारा र तथ्यहिन धारणाहरु सार्वजनिक भएपछि ती पेज सञ्चालकलाई कारवाहीको दायरामा ल्याउनेगरी कानूनी पहल सुरु गरेको युनियनले जनाएको छ।
विश्वमा फैलिएको कोरोना र त्यसको प्रभावका कारण दक्षिण कोरिया सरकारले लामो समयदेखि नेपालबाट ईपीएस श्रमिक ल्याउन रोकेको छ। अन्य देश सहित नेपाललाईपनि कोरोनाको जोखिमपुर्ण देशको सूचीमा राखेकाले ईपीएस श्रमिक नल्याईरहेको अवस्थामा ती पेजहरुमा आन्दोलनका कारण रोकिएको भ्रामक आरोप लगाइएको विज्ञप्तीमा उल्लेख छ।
कोरियामा युनियनकै दवावपूर्ण आन्दोलनका कारण आप्रवासी श्रमिककालागि बनाईएका विभेदपूर्ण कानूनहरु परिमार्जन भइरहेको अवस्थामा नेपालमा सञ्चालित ती पेजहरुले युनियनमाथि तथ्यहीन आरोप लगाई बदनाम गर्ने र मजदुर आन्दोलनलाई विथोल्ने मनसायले गतिविधि गरेको भनाई रहेको छ ।
एमटियु कोरियाका महासचिव मधुसुदन ओझाले त्यस्ता गतिविधि गर्नेलाई आवश्यक कानूनी कारवाहीका लागि सहयोग गरिदिन आग्रहसहितको बेहोराको पत्र कार्यालयलाई पठाइ सकिएको बताएका छन् ।
उनले भने, ‘हामिले ती पेजहरुमा उक्त कार्यालयको आधिकारिक ठेगाना उल्लेख भएको पाएपछि सोही कार्यालयसँग स्पष्टिकरणकालागि अनुरोध गर्ने तयारी गरेका थियौँ तर उक्त कार्यालयको कुनैपनि पेज नभएको पाइयो। अब ती पेज सञ्चालकले तथ्यहीन आरोप लगाउने गतिविधिलाई नसच्याए कोरियादेखि नेपाल प्रहरीसम्म उजुरी गरी आवश्यक कानुनी बाटो अपनाउँछौँ।’