काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को ओली समूहले सर्वोच्च अदालतको फैसला मान्ने निर्णय गरेको छ । बुधबार (आज) प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको यो समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णय मानेर जाने निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो । प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको आदेश अनुसार १३ दिन भित्र नै संसद् बैठक बोलाउने बताएका छन् ।
समग्र परिस्थितिको छलफल गर्न छिट्टै पार्टीको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बोलाउने पनि ज्ञवालीले बताएका छन् । प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले भने, हामी दलहरुसँग छलफलमा छौं । उहाँहरुका कुरा पनि सुनेका छौं । मुलुकलाई अन्योलमा राख्न हुँदैन भन्ने हाम्रो भनाई हो ।’ स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने भएको छ ।