Thursday, December 5Nepal News Portal
Shadow

निःशूल्क पाउनु पर्ने रगतमा अस्पतालको फरक फरक मूल्य


काठमाडौं, १६ असोज (ससं) । सरकारले जारी गरेको राष्ट्रिय रक्त सञ्चार नीतिलाई जनमानसमा सम्बन्धित निकायले सकारात्मकताका साथ प्रभावकारी तवरले निःशूल्क सेवा दिनु पर्नेमा उल्दै पैसा असुलिरहेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाजले विभिन्न स्थानमा संकलन गरेको रगत निःशूल्क वितरण गर्र्दै आएको छ । तर, विभिन्न अस्पतालहरुले निःशूल्क रगत पाउनु पर्ने पीडितपक्षको नैसर्गिक अधिकारलाई बन्देज लगाएका छन् । नीति र नियममा जस्तो सुकै व्यवस्था गरिएको भएपनि त्यसको नियमनकारी निकायले प्रभावकारी रुपमा अनुगमन नगर्दा पीडितलाई अझ पिडा थपिएको छ ।

हाल प्रति प्याकेट पोखरामा ७०० रुपैयाँ देखि १००० सम्म, तनहुँमा ८५० रुपैयाँ, लमजुङमा १००० रुपैयाँ, बाँकेमा १००० रुपैयाँ, धादिङमा ५०० रुपैयाँ, बनेपामा ७०० रुपैयाँ र पाल्पामा ७५० रुपैयाँ देखि २००० सम्म मूल्य तोकिएको छ । त्यस्तै कपिलवस्तुमा ८०० रुपैयाँ, ललितपुरमा ५७० रुपैयाँ, काठमाडौं केन्द्रीय रक्त सञ्चार सेवामा ४९५ रुपैयाँ देखि ६७५ सम्म, भक्तपुरमा ५८०, ६८०, ७६० र ८४० रुपैयाँसम्म लिने गरिएको छ ।
चितवन ८५० रुपैयाँ, मकवानपुर ८५०, मोरङ्ग ८१०, गुल्मी १५००, जनकपुर ५००, ८५० र ९५०, दमक ९५०, बिर्तामोड ९५०, दोलखा ५०० रुपैयाँमा अस्पतालहरुले व्यापार गरिरहेका छन् । तर नेपाल स्वयंसेवी रक्तदाता समाजले जेष्ठ नागरिक र विपन्नलाई निःशुल्क वितरण गरिरहेको छ । त्यसैगरी दाङ्ग ७५०, प्यूठान ८०० र रूपन्देहीमा ७२५ रुपैयाँमा रगत विक्री गरिन्छ । त्यस्तै गंगालाल राष्ट्रिय हृदय केन्द्र ६०० रुपैयाँ र ७००, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा ७९५ र ९२५, मनमोहन मेमोरियल शिक्षण अस्पताल ७५०, पाटन अस्पताल ६००, नोबेल अस्पताल प्रा.लि. ५३० र ६००, परोपकार प्रसुती गृहमा ४५५ र ५३५, धरानमा ७७० र ८८०, पर्वत, ११५०, वीर अस्पतालमा ५५० र ७०० रुपैयाँ लिएर ब्यापार गरिरहेका छन् ।

यसैगरी काठमाडौंका आई.एस.ओ. मान्यता प्राप्त ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालले १००० रुपैेयाँदेखि २००० रुपैयाँसम्म, मेडिसिटी अस्पतालले २००० रुपैयाँ, अन्तर्राष्ट्रिय बाल मैत्री अस्पतालले १७५० देखि २५७० रुपैयाँ, हिमाल रक्त सञ्चार सेवाले ७०० देखि १००० रुपैयाँसम्म पीडित पक्षबाट मनग्य असुलिरहेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाजको सक्रियतामा म्यादी जिल्लामा पूर्णतः रगत निःशुल्क बितरण गरिँदै आइएको छ । त्यसैगरी टिकापुर नगरपालिका, तिलोतमा नगरपालिका, बुटवल उपमहानगरपालिकाहरूले पनि निःशूल्क रगत बितरण गर्दै आएका छन् । आगामी बर्षदेखि देवदह नगरपालिकाद्वारा पनि निःशुल्क रगत उपलब्ध गराउन कार्य नीति बनाउँने क्रममा रहेको बताइएको छ ।

गोरखामा निःशूल्क रगत उपलब्ध गराउँने सहमति
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा गत बिहीबार गोरखा जिल्लामा स्वयंसेवी रक्तदाताहरूको रगतलाई उच्च सम्मान र कदर गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला तथा गोरखा नगरपालिका वडा नं. ११ का अध्यक्ष रामबहादुर खड्काद्वारा नगरपालिका वडा नं. ११ का स्थानीय बासिन्दा र नागरिकहरूलाई उपचारका क्रममा रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको आवश्यक्ता पर्दा आगामी आर्थिक वर्षदेखि निःशूल्क उपलब्ध गराउने सहमति भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यसँग वडा अध्यक्ष खड्काले गोल्डेन ह्याण्डसेक गरेका छन्।

त्यस्तै देशभर स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरेको रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको गुणस्तरीय परिक्षण पश्चात पीडित समक्ष निःशूल्क बितरणको लागि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले नेपाल सरकारसँग जोडदार माग समेत गरेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्