काठमाडौं, (ससं) । महिला लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको साधारण शेयर (आईपिओ) शुक्रबार (आज) बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज बिहान ८ बजे शेयर बाँडफाँड गरेको हो ।
कम्पनीको आईपिओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य कायम रहेका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ । जस अनुसार १५ लाख ३६ हजार ६ सय ८२ जना योग्य आवेदक मध्ये ३७ हजार ५ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका छन् ।
आवेदन दिएका मध्ये १५ लाख २ हजार ५ सय ३५ जना आवेदक हात खाली भएका छन् ।
कम्पनीले माघ ३० गतेदेखि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्कासन गरेको थियो । जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
आईपीओको नतिजा ३ तरिकाबाट हेर्न पाइने
लगानीकर्ताहरुले महिला लघुवित्तको आईपीओको नतिजा ३ तरिकाबाट मात्र आईपोओको नतिजा हेर्न पाउने छन् । सिडीएससी एण्ड क्लियारिङले आईपिओ निष्कासन गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र आईपिओको नतिजा हेर्न सक्ने ब्यबस्था गरेको छ ।
यस अघि लगानीकर्ताहरुले सहज रुपमा विभिन्न आर्थिक अनलाइन मिडिया मार्फत सहज रुपमा आफुलाई आईपिओ परेको वा नपरेको हेर्ने गरेका थिए ।
अब भने सिडीएसले लगानीकर्ताको गोपनियताको हकको रुपमा रहेकोले आधिकारिक निकायलाई मात्र नतिजा दिने भएको हो । सिडीएसले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली अनुसार नै मिडियालाई नतिजा दिने कार्य रोकेको हो ।