काठमाडौं, (ससं) । नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ।
ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरणको प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ।
अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ। विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक भनाइ छ ।
विभागले गत वर्ष खरीद गरेको ‘मास प्रिन्टर’ को क्षमता एक घण्टामा ४५० अनुमतिपत्र छाप्न सक्ने रहेको छ। एक दिनमा १० घण्टा सञ्चालन गर्दा पनि चार हजार ५०० छापिने निर्देशकले बताए।
उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छापिने छ । विभागले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा तीन ‘सिफ्ट’ मा उपकरण सञ्चालन गरेको थियो । उनले भने, “कति घण्टा चलाउने भन्ने चापमा निर्भर गर्छ ।”
कोभिड–१९ का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ अनुमतिपत्र सरकारले गत पुसमा पुनः खुलाएको हो । देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेका छन् । तीमध्ये पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ गर्न सकिने विभागले जनाएको छ । नयाँ १४ लाख कार्ड एकैपटक आएपछि माग धान्न गाह्रो नहुने निर्देशकले बताएका छन् ।