काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी ओलीले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका छन् । शुक्रबार (आज) प्रधानमन्त्री ओलीले बालुवाटारमा भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री अर्थात् संसदीय दलको नेता ओलीले पार्टी संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद भट्टराईलाई दिएका हुन् । । ओलीले देव गुरुङलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेका हुन् ।
भट्टराईलाई प्रमुख सचेतक बनेसँगै नेकपा संसदीय दलको नेता, उपनेता र सचेतक ओली समूहकै भएका छन् । संसदीय दलको नेता प्रधानमन्त्री ओली हुन् भने उपनेता सुवासचन्द्र नेम्वाङ हुन् ।
पुस ५ गते प्रधानमन्त्री अोलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।