काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । शनिबार रिपोर्टस् क्लवमा आयोजित अन्तरक्रियामा भट्टराईले भने प्रधानमन्त्री ओली अल्पमतमा भएको भन्ने हल्ला चलाइएको बताए ।
उनले भने, ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ । म दाबाका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं ।’
संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई आफूहरुले सम्मान गर्ने उनको भनाई छ । फागुन २३ गतेका लागि संसद अधिवेशन बोलाउन सिफारिस गरिएको भन्दै उनले त्यसअघि नेकपा संसदीय दलको बैठक बस्ने जानकारी दिए । पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने उनको चेतावनी छ ।
प्रमुख सचेतक भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने बताए ।