काठमाडौं, (ससं) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले इण्टरनेटको मूल्य घटाउने सम्बन्धमा अध्ययन गरिरहेको र निकट भविष्यमै त्यसको कार्यान्वयन गरिने बताएका छन्। शनिबार (हिजो) काठमाडौंमा आयोजित क्यान महासंघको २७औं साधारणसभामा बोल्दै उनले इण्टरनेटको मूल्य कम गराउने विषयमा सरकारको प्रतिवद्धता व्यक्त गरेका हुन्।
इकमर्श, इएजुकेशन, इहेल्थ लगायत सबैको विकासका लागि डिजिटल नेपाल फ्रेमवर्क ल्याइएको बताउँदै उनले त्यसको प्रभावकारी कार्यान्वयनले देश विकासको नयाँ खाका कोर्ने धारणा राखेका छन् ।
गाउँपालिकाका आफ्नै मोबाइल एप र वेबसाइट छन्, सरकार यस क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ। मन्त्री गुरुङका अनुसार आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य, समय वचततथा सेवाग्राही तथा आमजनतालाई सुविधा दिनका लागि पनि डिजिटल विकासको विकल्प छैन।
दूरसञ्चार सेवालाई प्रभावकारी बनाउने, गुणस्तरीय इन्टरनेट जस्ता कुरालाई सरकारले प्राथमिकतामा राखेको छ र दूरसञ्चार र इण्टरनेटको विकाससँगै सूचना प्रविधिका अन्य आयामहरु दुरदराजका गाउँसम्म पनि पुग्ने उनको धारणा रहेको छ ।
‘व्यवसायी तथा जनप्रतिनिधिहरुलाई कम्प्युटर, इन्टरनेटलगायत विषयमा गहन तालीमको आवश्यकता रहेको पनि उनको भनाइ रहेको छ । क्यान महासंघले यस्ता तालीमको योजना र कार्यक्रम बनाएर प्रस्ताव गर्ने हो भने त्यसमा सघाउन सञ्चार मन्त्रालय तयार रहेको पनि उनले बताएका छन् ।
दूरसञ्चारका क्षेत्रमा सरकारकै पैसाले पूर्वाधार तयार गरी त्यसलाई निजीजस्तै गरी प्रयोग गर्ने प्रवृत्ति समेत देखिएको भन्दै उनले त्यसलाई निरुत्साहित गर्ने धारणा समेत राखेका छन् ।
‘टेलिफोन नटिपेमा टावरलाई दोष दिन्छौं सेवा प्रदायकको नियत वा प्रविधिमा प्रश्न उठाउँदैनौं त्यसैले उपभोक्ताहरुलाई जागरुक बनाउनु पर्छ। त्यसमा भुगोलको दोष होइन, व्यवसायीको हो। जनताका यस्ता समस्या क्यान फेडेरेशनले उठाइदिनु आवश्यक छ,’ उनले भने।