फाइल तस्वीर
काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् । मध्याह्न १२ बजेपछि पोखराका विभिन्न कार्यक्रममा व्यस्त हुने ओली यति एयरलाइन्सको विमानमार्फत विहान ११ः४० बजे पोखरा पुग्नेछन् । त्यसपछि केहीबेर आराम गरेर उनले गण्डकी प्रदेश सरकारले निर्माण गर्ने प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्ने कार्यक्रम छ ।
पोखरा–१ नदीपुरमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठान शिलान्यासपछि उनले १ बजे पोखरा सभागृहमा हुने गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने नेकपा ओली समूहका गण्डकी प्रदेश सहइञ्चार्ज किरण गुरूङले जानकारी दिए ।
कार्यकर्ता सम्बोधनपछि ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम तय भरिएको छ । २ बजेसम्म रंगशाला निरीक्षणको कार्यक्रम सकेर प्रदेशका पार्टीका शीर्ष नेताहरूसँग केहीबेर आन्तरिक छलफलपछि ओली आजै साँझ काठमाडौँ फर्कनेछन् ।
यसअघि शनिबारका लागि निर्धारण गरिएको प्रधानमन्त्री ओलीको कार्यक्रम तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित गरिएको थियो ।
प्रतिनिधिसभा विघटनपछि चुनावी तयारी भन्दै देशदौडाहामा निस्किएका ओली फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विकास निर्माणका कामको शिलान्यास तथा उद्घाटनमा निस्किएका छन् ।