काठमाडौं, (ससं) । आज सोमबार बिहानै अकस्मात मन्त्रिपरिषद् बैठक बसेको छ । सर्वाेच्च अदालतले फागुन ११ गते फैसला गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेर संसद अधिवेशन बोलाउन दिएको आदेश कार्यान्वयन गर्न बैठक बसेको हो ।
मन्त्रिपरिषद् बैठकले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले फागुन २३ गतेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले बताएका छन् ।
फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश गरेको थियो ।
गत शुक्रवारकै मन्त्रिपरिषद् बैठकले नै अधिवेशन आह्वानका लागि सिफारिस गरेको हल्ला फैलिएपनि आज सोमबारको बैठकले सिफारिस गरेको जनाइएको छ ।