Thursday, September 12Nepal News Portal
Shadow

विप्लव समूहसँग वार्ताको तयारी भइरहेको छ : मन्त्री गुरुङ


काठमाडौं, (ससं) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ताको तयारी गरिरहेको बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सो समूहलाई वार्तामा आउन आह्वान गरिरहेको र वार्तामा आउने तयारी भइरहेको बताएका हुन् ।

“सो समूहको नेतृत्वको पार्टी शान्तिपूर्ण बाटोमा आउने प्रक्रियामा छ, वार्ता नजिक नजिक भइरहेको छ”, सरकारका प्रवक्ता गुरुङले भने, “वार्ताको टुङ्गो लाग्नेछ, प्रधानमन्त्रीले वार्ताका लागि आह्वान गरिरहनुभएको छ ।” उनले प्रधानमन्त्रीको आह्वानअनुरुप वार्ताको वातावरण अघि बढेको आफूले अनुभूति गर्न पाइरहेको उल्लेख गर्दै भने, “वार्ता सफल होस्, म पुनः शान्तिपूर्ण बाटोमा आउन आह्वान गर्दछु, शान्तिपूर्ण, सकारात्मक दृष्टिकोणबाट मात्र सामाजिक र राजनीतिक रुपान्तरणमा जानुपर्छ ।”

सरकारद्वारा प्रतिबन्धित चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्ताका लागि तयार भएपछि सो समूहलाई लगाइएको प्रतिबन्ध हटाउने तयारी भएको छ । सो समूहले वार्ता र संवादका लागि आफ्नो समूह सकारात्मक रहेको सन्देश सरकारलाई पठाइसकेको छ ।
सरकारले विध्वंशात्मक गतिविधिमा संलग्न रहेको उल्लेख गर्दै उक्त समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्