काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहकोे केन्द्रीय कमिटी बैठक बुधबार (आज) बस्ने भएको छ। बैठकमा संसद् पुनःस्थापनापछि विकसित राजनीतिक घटनाक्रम तथा आगामी रणनीतिबारे छलफल गर्ने तयारी गरिएको छ।
संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरेपछि प्रचण्ड–माधव समूह नयाँ सरकार गठनका लागि अन्य दलसँग समीकरण निर्माणको कोसिसमा छ।
बुधबारको बैठकमा केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिइएको बताइएको छ । राजनीतिक रूपमा नेकपा विभाजित भए पनि निर्वाचन आयोगले निर्णय नगरेकाले कुन दल आधिकारिक भन्ने अन्योलता कायमनै छ।
आयोगमा आधिकारिकता पुष्टिका लागि आवश्यक परे कागजातसमेत पेस गर्नुपर्ने भएकाले आजको बैठकमा नागरिकतालगायत बोकेर आउन भनिएको एका नेताले जानकारी दिए ।