काठमाडौं, (ससं) । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले गरिरहेको आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव नेपाल प्रवेश गरेका छन् । अध्यक्ष नेपालले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गरेको रिले अनशनमा समर्थन गर्दै भौतिक उपस्थिति जनाएका छन् ।
अध्यक्ष नेपालले उपकूलपति कार्यालयबाहिर नेविसंघले गरेको विरोध कार्यक्रममा गएर समर्थन जनाएका हुन् । अध्यक्ष नेपालले नेविसंघले राखेको पुस्तिकामा हस्ताक्षर गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, त्रिविको क्यालेन्डर अनुसार नयाँ भर्ना सुरू गर्नुपर्ने, नेपाल विद्यार्थी संघ र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, नेविसंघका विद्यार्थीमाथि लागेको मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राखेर नेविसंघको त्रिवि समितिले उपकूलपति कार्यालयबाहिर रिले अनशन गर्दै आइरहेको छ ।
नेविसंघले कोरोना संक्रमणको महामारीका कारण परीक्षा र नतिजा प्रकाशमा ढिलाइ हुँदा विद्यार्थीको शैक्षिक वर्ष १ वर्ष ढिला हुने सम्भावना रहेकाले तत्काल नतिजा दिनुपर्ने माग समेत गरेको छ ।