काठमाडौं, (ससं) । कोरोना भाइरस (काभिड-१९) विरुद्धको खोप अभियानअन्तर्गत दोस्रो चरणमा झापाका ५८ हजार ५१३ ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको छ ।
जिल्लाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई फागुन २३ गते आइतबार देखि कोरोना भाइरसविरुद्धको खोप ‘कोभिडशिल्ड’ लगाइने स्वास्थ्य कार्यालय झापाका प्रमुखले जानकारी दिएका छन् । जिल्लाका १५ स्थानीय तहमा दुई चरणमा खोप दिन लागिएको हो ।
फागुन २३ देखि २७ गतेसम्म पहिलो चरणमा माईपूर्वका आठ स्थानीय तह भद्रपुर, मेचीनगर, अर्जुनधारा, विर्तामोड, कचनकवल, हल्दिबारी, बाह्रदशी र बुद्धशान्तिका ३४ हजार ४५६ जनालाई खोप दिइने प्रमुखले बताएका छन् ।
त्यस्तै चैत १ देखि ५ गतेसम्म दोस्रो चरणमा माईपश्चिमका सात स्थानीय तह कनकाई, शिवसताक्षी, दमक, गौरादह, झापा, कमल र गौरीगञ्जका २४ हजार ५७ ज्येष्ठ नागरिकलाई खोप दिइने छ ।
खोप लगाउन जिल्लाभर ६० खोप केन्द्र र ३५० स्वास्थ्यकर्मीको टोली परिचालन गरिने भएको छ भने खोप अभियान पूरा गर्न १५० दिन लाग्ने कार्यालयले जनाएको छ । प्रत्येक पालिकामा एक एमबीबीएस चिकित्सकसमेत परिचालन गरिने जनाइएको छ ।