काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकारबीच बिहीबार भएको सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) राष्ट्रिय सभा गृहमा पुगेका छन् । शुक्रबार (आज) राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली र नेकपाका महासचिव चन्दले सहमतिपत्रमा हस्ताक्षर गर्दैछन् ।
विप्लव समूह नेतृत्वको नेकपामाथि दुई वर्षअघि लगाएको प्रतिबन्ध सरकारले बिहीबार फुकुवा गरेको थियो । हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने चन्द समूहको लिखित प्रतिबद्धता र थुनामा रहेका नेता–कार्यकर्ता रिहाइ तथा उनीहरूमाथि लागेका ‘राजनीतिक मुद्दा’ फिर्ता गर्न सरकार सहमत भएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो । सरकारी वार्ता टोली र चन्द समूहको वार्ता टोलीबीच भएको सहमति बिहीबार साँझ मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।