Sunday, April 20Nepal News Portal
Shadow

बादल समूहले पद छाड्ने तर ओलीको साथ नछाड्न


काठमाडौं, (ससं) । सर्वोच्च अदालतको फैसलासँगै नेकपा माओवादी केन्द्रमा परिणत भएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरू पुनःस्थापित नेकपा एमालेमा सामेल हुने भएका छन् । अदालतको फैसला आएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बादल, टोपवहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा, गौरीशंकर चौधरी, दावा तामाङलगायतका मन्त्री र नेताहरूसँग आइतवार साँझ बालुवाटारमा छलफल गरेका थिए ।

अर्थमन्त्री विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेताहरूसमेत छलफलमा सहभागी थिए । प्रधानमन्त्रीले अदालतको फैसला यस्तो आएको भन्दै ‘अब तपाईंहरु के भन्नुहुन्छ ? म तपाईंहरूलाई जे अनुकुल हुन्छ त्यही वातावरण बनाइदिन्छु’ भनेका थिए ।

जवाफमा सबैजनाले आफूहरू मन्त्री पदका लागि ओली पक्षमा नलागेको भन्दै विचार,सिद्धान्त र कम्युनिष्‍ट आन्दोलन अघि बढाउने सवाल भएकाले प्रचण्डसँग जान नसकिने बताएको स्रोतले जानकारी दियो ।

स्रोतले भन्यो, ‘उहाँहरूसँग प्रधानमन्त्रीले खुलस्त कुरा राख्नुभयो । तर, सबैजनाले प्रधानमन्त्रीले भनेमा एक मिनेटमै पद छाड्न तयार रहेको तर साथ भने नछाड्ने बताउनुभयो । अब उहाँहरू हिजो पनि ओली पक्षीय नेकपामा हुनुहुन्थ्यो अब नेकपा एमालेमा रहनुहुन्छ र उचित जिम्मेवारी पाउनुहुन्छ ।’

एमालेमा लागेपछि प्रचण्डले सांसद पद खारेजीको प्रक्रिया चलाउन सक्ने तर प्रत्यक्ष निर्वाचित सांंसदको पद रिक्त गर्न सहज नरहेको पनि चर्चा सो पंक्तिमा चलेको छ । तर, सांसद पद महत्वपूर्ण नरहेको भन्दै सबै नेताले ओलीको साथ नछाड्ने प्रतिबद्धता जनाएको बालुवाटार स्रोतले बताएको छ ।

नेकपा माओवादी केन्द्रबाट साबिक नेकपामा केन्द्रीय सदस्य रहेका एक दर्जनभन्दा बढी नेताहरू केपी ओली पक्षमा छन् । संकटको बेला केपी ओलीको पक्षमा उभिएका कोही पनि नेता कार्यकर्ताले अब नेकपा माओवादी केन्द्र नरोज्ने केन्द्रीय सदस्य निरु दर्लामीले बताइन् । –नेपाल प्रेस

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्