काठमाडौं, (ससं) । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको देवघाट गाउँपालिकामा श्रीमतीले श्रीमान बोकेर दौडने प्रतियोगिता आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर श्रीमतीले श्रीमानलाई बोकेर दौडिने गरी प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएका छन् । प्रतियोगितामा १४ जोडी सहभागी थिए ।
सुन्दा प्रतियोगिता नौलो खालको लागेपनि शारीरिक र मानसिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले बताइन् । प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।