काठमाडौं, (ससं) । नेपाली कांग्रेस (नेकां) ले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने संकेत गरेको छ । सभापति शेरबहादुर देउवाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उपयुक्त समय बल्ल आएको बताउन थालिसकेका छन् ।
यसअघि प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजान साथ खोज्दा देउवाले नेकपा फुटेकै छैन भन्ने अडान राखेका थिए । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको ठहर गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि यो मौका छोप्ने दाउमा देउवा छन् ।
संसदमा कांग्रेसका ६३ सांसद रहेका छन् । तर उपसभापतिसमेत रहेका विजयकुमार गच्छदार र सांसद मोहम्मद अफताब आलम निलम्बनमा छन् । यो अवस्थामा कांग्रेससँग अब ६१ सांसद छन् ।
पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको संसदको तेस्रो दल माओवादी केन्द्रका ५३ सांसद छन्। यीमध्ये अग्निप्रसाद सापकोटा सभामुख छन् । ५२ सांसदमध्ये चार जना प्रधानमन्त्री ओलीतिर छन् । अहिले मन्त्री रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी फर्केनन् भने माओवादी केन्द्रसँग ४८ जना सांसद हुनेछन् ।
यसैगरी समाजवादी पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टीमा ३४ सांसद छन् । यीमध्ये पप्पु यादव र रेशम चौधरी निलम्बनमा छन्। अब जसपासँग ३२ सांसद छन् । कांग्रेसको ६१, माओवादी केन्द्रको तत्काल देखिएका ४८ र जसपाका ३२ जना सांसद गठबन्धनमा आए भने १४१ सांसद संख्या पुग्छ । यो संख्याले बहुमतको सरकार बनाउन पुग्छ । बहुमतको सरकार बनाउन संसदमा १३८ जना सांसद चाहिन्छ ।