काठमाडौं, (ससं) । प्रतिनिधिसभा बैठक आगामी चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । आज बुधबारको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित भएपछि चैत ३ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका हुन् ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि संसद् सचिवालयले बुधबारको बैठकको कार्यसूची परिवर्तन गरेको छ । प्रधानमन्त्री ओली संसद् बैठक सुरु हुनुअघि नै संसद् भवनबाट बाहिरिएका थिए ।
यसअघि बुधबार बस्ने बैठकलाई विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची भए पनि प्रधानमन्त्री ओली फर्किएपछि परिवर्तन गरिएको हो । यसअघिको कार्यसूचीमा विभिन्न अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।